कोरोना विरुद्धको एउटा पनि खोप हराएको छैन : मन्त्री खतिवडा

माघ २९, २०७८ | मोरङ

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोना विरुद्धको एउटा पनि खोप नहराएको दाबी गर्नु भएको छ । विराटनगरमा शनिबार सञ्चारकर्मीसँग मन्त्री खतिवडाले खोपको तथ्यांक नभएको भन्ने विषय राजनीतिक प्रोप्रोगाण्डा मात्रै भएको बताउनुभयो । 

‘कुन देशबाट कुन–कुन खोप कति आएको र त्यो कुन प्रदेश र पालिकामा कति पठाएको सबै तथ्यांक भएकोले खोप हराएको कसरी भन्न मिल्छ,’ उहाँले भन्नुभयो, ‘स्वास्थ्यकर्मीले सर्वसाधारणलाई खोप लगाउने क्रममा केही खोप वेष्ट गएकोलाई अहिले राजनीतिक मुद्दा बनाएर यति धेरै हंगामा मचाइरहेको छ ।’ 

सुरुमा निश्चित दिन तोकेर खोप लगाउने गरेको र त्यहाँ स्वास्थ्यकर्मीले लिएर गएको खोप खोलेर लगाउने क्रममा बाँकी रहेको खोप खेर गएको संख्यालाई नै लिएर अहिले यति धेरै राजनीतिकरण भइरहेको खतिवडाको भनाई थियो । 

अहिले प्रत्येक स्थानीय तह मार्फत दैनिक खोप लगाउने काम भइरहेकाले एउटा पनि खोप खेर नजाने गरेको उहाँले बताउनुभयो । आगामी चैत अगावै १२ वर्षमाथिका उमेर समूहका सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । 

यसैबीच, मन्त्री खतिवडाले सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. श्यामसुन्दर यादवको नियुक्ति कानूनसम्मत रहेको दाबी गर्नुभयो । 

कानून सम्मत भए/नभएको टुंगो लगाउने निकाय न्यायालय रहेकाले यस विषयमा बाहिर धेरै छलफल र बहस गर्नुको औचित्य नभएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया