निर्वाचन आयोगको आचारसंहिताको प्रावधानविरुद्ध सर्वोच्चमा रिट

चैत्र ६, २०७८ | काठमाडौं

स्थानीय तह चुनावमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिताविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वोच्चमा रिट निवेदन दिनुभएको हो । 

शेर्पाको रिट सर्वोच्च अदालतले दर्ता गरी पर्सि मंगलबारका लागि पेशी तोकेको छ । स्थानीय तहको आगामी निर्वाचनमा उम्मेदवार बन्न चाहने बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भन्दै निर्वाचन आयोगले राजपत्रमा आचार संहिता प्रकाशित गरेको थियो । सो विरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पा सर्वोच्च पुग्नुभएको हो । रिटकर्ता शेर्पाले अन्तरिम आदेशको माग गर्नुभएको छ । 

बहालवाला जनप्रतिनिधले पुन: चुनाव लड्न राजीनामा दिनुपर्ने भन्ने निर्वाचन आयोगको निर्णय असंवैधानिक रहेको दाबी शेर्पाको छ । रिट दर्तापछि रेडियो कान्तिपुरसँग कुरा गर्दै शेर्पाले भन्नुभयो ‘संविधानले स्थानीय तह रिक्त हुने परिकल्पना समेत गरेको छैन । त्यसले आयोगको यो निर्णय असंवैधानिक छ ।’ 

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदैछ । निर्वाचनका लागि आयोगले तयारीलाई तिव्र बनाएको छ । हालका जनप्रतिनिधि समेत अर्को कार्यकालका लागि उम्मेदवार बन्ने चर्चा चलिरहँदा आयोगले उनीहरुलाई राजीनामा गराउने व्यवस्था गरेको हो । निर्वाचनमा सरकारी स्रोत साधनको दुरुपयोग हुन रोक्न यस्तो व्यवस्था गरिएको आयोगको भनाई छ । 


प्रतिक्रिया