गठबन्धनको निर्णय नमान्ने नेता कार्यकर्तालाई कारवाही हुने कांग्रेस नेता खाँणको चेतावनी

वैशाख ७, २०७९ | रूपन्देही

गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले गठबन्धनको निर्णय नमान्ने र असहयोग गर्ने कांग्रेसका नेता कार्यकर्तालाई कारवाही हुने बताउनु भएको छ । गठबन्धनको सहमतीको विरोध गर्ने नेताले प्रदेश र संघीय निर्वाचनको टिकट नपाउने र कार्यकर्तालाई हैसियत अनुसारको कारवाही हुने चेतावनी पनि उहाँले दिनु भएको छ ।

प्रेस युनियन रूपन्देहीले आज नेता खाँणकै निवास मणिग्राममा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले गठबन्धनमा भएको सहमति अक्षरसः पालना गरेर जान नेता कार्यकर्तालाई निर्देशन दिनु भयो । गठबन्धनले गरेको निर्णयमा कांग्रेसकै नेता कार्यकर्ताबाट भइरहेको विरोध बारे पत्रकारको जिज्ञासामा उहाँले गठबन्धनको सहमती पूर्ण रुपमा कार्यान्वयन गर्ने दायित्व कांग्रेसकै भएको बताउनु भयो । गठबन्धनलाई स्थानीय निर्वाचनमा मुर्त बनाउने चुनौती रहेको भएपनि त्यसलाई गठबन्धनको आधारशिलामा उभिएर कार्यान्वयन गर्नुपर्ने मन्त्री खाँणको दावी थियो ।

पत्रकार सम्मेलन सकिएपछि नेता खाँडले अनौपचारिक भन्दै गठबन्धनमा केन्द्रमा भएको सहमति र निर्णयलाई कार्यान्वयन नगर्ने र विरोध गर्ने नेता कार्यकर्ता कारवाहीको भागिदार बन्नु पर्ने बताउनु भयो । उहाँले सबै कार्यकर्तालाई गठबन्धनमा मित्रवत व्यवहार गरेर सहमतिका साथ अघि बढ्न पनि निर्देशन दिनु भएको छ ।

गृहमन्त्री खाँणले सरकारले निर्वाचनका लागि सबै तयारी गरेको बताउनु भएको छ । पहिलो स्थानीय तहको निर्वाचन धेरै चरणमा गरेको भएपनी अहिले एकै पटक गर्दा जनशक्ति र सुरक्षा संयन्त्रको हिसावले चुनौती पूर्ण रहेको बताउनु भयो । त्यसको व्यवस्थापनका लागि निर्वाचनका दिन नेपाली सेना र निजी हेलिकप्टर मार्फत हवाई गस्ति पनि गर्ने गरी सुरक्षा प्रवन्ध मिलाउन लागिएको मन्त्री खाँडले जानकारी दिनुभयो । साना र अहिलेसम्म निर्वाचनमा सहभागी नभएका दललाई पनि अहिले निर्वाचनमा सहभागी गराउन लागिएको पनि उहाँले बताउनु भएको छ । त्यसका लागि नेकपा विप्लव समुह, सिके राउत समुहसँग सरकार निरन्तर छलफलमा रहेको उहाँले जानकारी दिनुभयो ।  


प्रतिक्रिया