श्रीलंकाको संसदीय निर्वाचनका लागि मतदान सम्पन्न
कार्तिक २९, २०८१ | काठमाडौं
श्रीलंकामा आज संसदीय निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ ।
जम्मा २ सय २५ सदस्यीय सांसद निर्वाचित हुने चुनावमा राजनीतिक दल तथा स्वतन्त्र समुह गरेर ६ सय ९० जना प्रतिस्पर्धामा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।
मतदानमा झण्डै ६५ प्रतिशत मत खसेको बताइएको छ । संसदीय निर्वाचन राष्ट्रपति चुनिएको सात हप्तापछि भएको हो ।
निर्वाचनको परिणाम राष्ट्रपति अनुरा कुमारा दिशानायकेको पक्षमा आउने विश्लेषण गरिएको छ । श्रीलंकामा १ करोड ७० लाख योग्य मतदाता छन् । वामपन्थी विचारधाराका दिशानायके गत सेप्टेम्बरमा राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।