बुटवलमा रास्वपा सभापति लामिछानेको बयान सकियो
कार्तिक २९, २०८१ | काठमाडौं
सहकारी ठगी, संगठित अपराध कसुरमा अनुसन्धानकालागि कास्कीबाट रुपन्देही पुर्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसँगको बयान सकिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले लगातार तीन दिनसम्म बयान लिएको हो । गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक समेत रहेका लामिछानेसँग बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधरणले जम्मा गरेको बचत अपचलन गरेको आरोपमा बयान लिइएको हो ।
लामिछानेलाई अस्ती मंगलबार मध्यान्ह कास्कीबाट रुपन्देहीको भैरहवा लगिएको थियो । मंगलबार दिउँसोबाट बयान लिन थालिकोमा पहिलो दिन पूरा नभएपछि हिजो लामिछानेलाई १० घण्टा जिल्ला सरकारी वकिल कार्यालयमा राखेर बयान लिइएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका अनुसार हिजो साँझ सवा ७ बजेसम्म बयान लिइएको थियो ।
हिजाको बयान पूरा नभएपछि आज बिहान १० बजे लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालय पुर्याएर बयान लिइएको थियो । सुप्रिमबाट गोर्खा मिडियाको प्रवन्ध निर्देशक रहेका बेला लामिछानेको नाममा १ करोड ९६ लाख रुपैयाँ पठाइएको विषयमा अनुसन्धान भइरहेको हो ।
बुटबलमा बयान सकिएपनि लामिछानेमाथि थप अनुसान्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई दिएको समय भने अझै बाँकी छ । गत कार्तिक २ गते काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट लामिछानेलाई प्रहरीले पक्राउ गरि पोखरा पुर्याएको थियो ।