कैलालीको रामपुरस्थित मुक्त कमैया बस्तीमा आगलागी, अधिकांश घर जलेर नष्ट

वैशाख ११, २०७९ | काठमाडौं

कैलालीको कैलारी गाउँपालिकाको रामपुरस्थित मुक्त कमैया बस्तीमा आगलागी हुँदा झण्डै ६० घरहरु जलेर नष्ट भएका छन् । अधिकांश घरहरु काठ र परालको छानो हालेर बनाइएकाले पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सोमेन्द्र सिंह राठोरले बताउनुभयो । 

उहाँका अनुसार आज अपरान्ह करीब २ बजेबाट सुरु भएको आगो निभाउने प्रयास अझै जारी छ । धनगढी उपमहानगर , टीकापुर, भजनी लगायत स्थानिय तहबाट ४ वटा दमकल ल्याएर आगो निभाउने प्रयास भईरहेको राठोरले बताउनुभयो ।

 आगलागीबाट अहिलेसम्म कुनै मानवीय क्षति नभएपनि घर, लत्ताकपडा तथा अन्न जलेर नष्ट भएको छ । सो बस्तीमा सरकारबाट लालपूर्जा पाएका मुक्त कमैयाहरु बस्दै आएका छन् । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।  


प्रतिक्रिया