उम्मेदवारलाई चुनाव चिन्ह प्रदान

वैशाख १७, २०७९ | काठमाडौं
आसन्न स्थानीय तह निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आयोगले आज चुनाव चिह्न प्रदान गरेको छ । आयोगमा दल दर्ता गराएका दलहरूले दलगत चुनाव चिह्न पाइसकेका छन् भने स्वतन्त्र उम्मेदवारका लागि आयोगले छुट्टै चिह्न प्रदान गरेको हो ।
आयोगका सह प्रवक्ता सुर्यप्रसाद अर्यालले आयोगले स्वतन्त्र उम्मेदवारहरूलाई यसअघि नै तय गरिएका विभिन्न ४० प्रकारका चिह्नमध्येबाट प्रदान गरिएको बताउनुभयो । स्वतन्त्र उम्मेदवारहरूका लागि निर्वाचन आयोगले लौरो, भुईकटहर , आँप, भ्यागुतो, गुलावको फूल लगायत निर्वाचन चिह्न प्रदान गरेको अर्यालले जानकारी दिनुभयो ।
बिहान १० देखी साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट चुनाव चिन्ह प्रदान गरिएको र निर्वाचन चिन्ह लिने उम्मेद्वारको यकिन संख्या भोलि मध्यान्हसम्म आइसक्ने उहाँको भनाई थियो । निर्वाचनमा ७९ राजनीतिक दल सहभागी हुँदैछन् । स्थानीय तह निर्वाचनमा काठमाडौंमा सबैभन्दा धेरै ५६ र डोल्पामा सबैभन्दा कम ११ दलले प्रतिपर्धा गर्ने आयोगले जनाएको छ ।