धुलिखेलको मतगणना विवाद : निर्वाचन आयोगलाई पत्र लेखियो

जेष्ठ ४, २०७९

स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत धुलिखेल नगरपालिकाको मतगणनामा भएको विवाद बढ्दै गएको छ । उम्मेदवार नभएको चिन्हको मत सदर वा बदर गर्ने भन्ने विषयले विवाद भएपछि हिजो दिउसोबाट मतगणना रोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निकासको लागि निर्वाचन आयोगलाई पत्र लेखेको छ । मतगणना शुरु हुनुअघि दलहरुसहितको बैठकले एउटै पदमा उम्मेदवार नउठेको र उठेको पदमा दुबैमा छाप छ भने उम्मेदवार भएको पदमा त्यो संकेत सदर मान्ने सहमति गरेको थियो । सोही अनुरुप वडा नं ८ सम्मको मतगणना सकेर घोषणा समेत भइसकेको छ । वडा नं ९ को मत गणना गर्ने बेलामा निर्देशिका विपरित सहमति भएकोमा आफ्नो गल्ती महशुस गर्दै मुख्य जिल्ला न्यायधिश समेत रहेका मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले दलहरुसँग छलफल गर्नुभएको थियो । गलत भएको महशुस गर्दै निकासको लागि आयोगलाई पत्र लेखेको सहायक निर्वाचन अधिकृत शेषराज दाहालले जानकारी दिनुभयो । आफैले गरेको गल्ती सच्याउन आफूले नमिल्ने भन्दै संवैधानिक निकाय, अदालतले दिने निर्णय अनुसार अघि बढ्ने दाहालले बताउनुभयो । छलफलमा कांग्रेस लगायतका अन्य दलले मतगणना अघि भएको सहमति अनुसार यसअघि घोषणा भएका ८ वटा वडा अनुसार नै बाँकी वडाको मतगणना हुनुपर्ने अन्यथा यसअघिका सबै वडामा पुन गणना वा मतदान हुनुपर्ने अडान राखेका थिए भने एमालेले नयाँ नियम अनुसार हुनुपर्ने अडान राखेको थियो । जिल्लाका पार्टी प्रमुखहरुको छलफलले समेत निकास निकाल्न सकेको छैन । निर्देशिका विपरित यसअघि गरिएको मत गणना बदर गरी पुन मतगणना गर्ने वा यसअघि घोषणा गरिएको सदर गरेर बाँकी निर्देशिका अनुसार भए अदालत जाने तयारीमा कांग्रेस, स्वतन्त्र उम्मेदवार लगायतको तयारी छ । मतगणना निर्देशिका समेत जानकारी नहुने न्यायधीशलाई कार्वाहीको माग समेत उनीहरुको छ । 


प्रतिक्रिया