स्थानीय तह निर्वाचनमा करिव ३ लाख मत बदर

असार २, २०७९

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पूर्ण बदर मतको संख्या ७४ सालको निर्वाचनको तुलनामा बढेको निर्वाचन आयोगले जनाएको छ । पहिलो स्थानीय तहको निर्वाचनमा पूर्ण बदर मतको संख्या १ं.५ प्रतिशत रहेकामा गत निर्वाचनमा बढेर २.५ प्रतिशत अर्थात करिव ३ लाख पुगेको निर्वाचन आयोगका सह प्रवक्ता सुर्यप्रसाद अर्यालले बताउनुभयो । त्यस्तै, आंशिक बदर मतको संख्या समेत बढेको छ । अघिल्लो निर्वाचनमा ५ प्रतिशत रहेको आंशिक बदर मत हालको निर्वाचनमा बढेर १० प्रतिशत पुगेको छ । कुल मतदाता १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मध्ये गत निर्वाचनमा ७० प्रतिशत मत खसेको थियो । खसेको मतको आधारमा बदर मतको संख्या एकिन गरिएको सह प्रवक्ता अर्यालले बताउनुभयो ।तेर्सो लाइनमा क्रमिक रुपमा लगाउनुपर्ने स्वस्तिक छाप ठाडो लाइनमा लगाइएको, मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको, स्वस्तिक छाप लगाउनुपर्नेमा ल्याप्चे लगाइएको लगायतका त्रृटी भएको मतपत्रलाई पूर्ण बदर मानिन्छ । 

त्यस्तै, उम्मेदवार नउठेको निर्वाचन चिन्हमा स्वस्तिक छाप लगाएको, ७ वटा निर्वाचन चिन्ह मध्ये कुनैमा स्वस्तिक छाप लतपतिएको, कुनै निर्वाचन चिन्हको कोठाबाट बाहिर पर्ने गरि मत संकेत गरिएको लगायतका त्रुटिलाई आंशिक बदर मत मानिने प्रावधान छ । निर्वाचनमा घरदैलो अभियानबाट मतदाता शिक्षा संचालन नगरिका कारण पनि यो पटक बदर मतको संख्या बढेको हुन सक्ने आयोगले स्वीकार गरेको छ । मतदाता शिक्षालाई डिजिटलमैत्री बनाउने भन्दै आयोगले गत निर्वाचनमा घरदैलो कार्यक्रम बन्द गरेका थियो ।   


प्रतिक्रिया