दाङमा सडक खन्दा प्राचिन सिक्का भेटिए

असार ५, २०७९

दाङको तुलसीपुरमा सडक खन्ने क्रममा चाँदीका प्राचिन सिक्का भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका ४ सिमराटोलबाट रक्षाचौर अाँखा अस्पतालसम्मको सडकको नयाँ ट्रयाक खोल्ने क्रममा कसौडीमा राखिएका प्राचिन सिक्का भेटिएका हुन् ।

सडक खन्ने क्रममा ५ सय ३७ वटा सिक्का भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताउनुभयो । जसमध्ये ४ सय ६१ वटा श्री ३ लेखिएका नेपाली शिक्का छन् भने ७६ वटा एक रुपयैया लेखेका भारतीय शिक्का छन् । सबै शिक्काहरु झन्डै २ सय ५० बर्ष पुराना रहेको प्रहरी निरिक्षक शाहीले बताउनुभयो ।

डोजर चालक सुवासचन्द्र चौधरीले हिजो दिउँसो सडकको नयाँ ट्रयाक खन्ने क्रममा भेटाएको सिक्का घरमा लगेर राखेका थिए । डोजरका अर्का चालक राजन खड्काले पनि भाग खोजेपछि उनीहरुबीच विवाद भएपश्चात् सिक्का फेला परेको जानकारी बाहिरिएको थियो । जग्गाधनी शोभा भण्डारीले सिक्का भेटिएको थाहा पाएपछि प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले चालक चौधरीको घरमा राखेको अवस्थामा सिक्का बरामद गरेको हो । चौधरीलाई नियन्त्रणमा राखेर त्यसबारे थप अनुसन्धान गरिरहेको हाम्रा सहकर्मीले जनाएका छन् । 


प्रतिक्रिया