राज्यमन्त्री विमला वलीद्वारा राजीनामा

असार १५, २०७९

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिनु भएको छ । उहाँले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा पत्र बुझाएको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले बताउनुभयो । 

गत जेठ ३१ गते दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर बस्नेतकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको भन्दै स्वास्थ्य राज्यमन्त्री वलीलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि सरकारले छानबिन गर्न समिति समेत गठन गरेको थियो । छानविन समितिलाई सघाउन पार्टीको सल्लाहमा उहाँले राजीनामा दिएको प्रमुख सचेतक घर्तीले बताउनुभयो । 

वलीका श्रीमान प्रदेश सभा सदस्य उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा उपनिर्वाचनमा उनी उहाँ तत्कालिन नेकपाबाट विजयी हुनु भएको थियो । यद्यपि पार्टी विभाजनपछि उहाँले माओवादी केन्द्र रोज्नु भएको थियो । गत साउनमा माओवादीले उहाँलाई राज्यमन्त्री बनाएको थियो ।


प्रतिक्रिया