चुनाव चिन्हलाई लिएर राप्रपा नेपाल र आयोगवीच विवाद, मतपत्र छाप्ने कार्य प्रभावित

भाद्र २१, २०७९ | काठमाडौं

चुनाव चिन्हलाई लिएर कमल थापा नेतृत्वको राप्रपा नेपाल र निर्वाचन आयोगबीच विवाद भएको छ । सोही विवादका कारण प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको समानुपातिक तर्फको मतपत्र छाप्न ढिलाइ भएको छ । गत स्थानीय तहको निर्वाचनमा तीर चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएको राप्रपा नेपालले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि गाई चिन्ह माग्दै सर्वोच्चमा दायर गरेको रिटको टुंगो नलागेका कारण मतपत्र छाप्न ढिलाई भएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय जनावर गाईलाई कुनै दल विशेषको चिन्ह बनाउन नदिने निर्वाचन आयोगको पछिल्लो निर्णय आफुलाई मान्य नभएको राप्रपा नेपालको भनाइ छ । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले स्थानीय तह निर्वाचन अघि पार्टीले प्रयोग गर्दै आएको गाई चुनाव चिन्ह पुन: प्रयोग गर्न पाउनुपर्ने बताउनुभयो । निर्वाचन आयोग भने राप्रपा नेपाल पुरानै पार्टीको निरन्तरता नभएकाले आफुले तोकेकै चुनाव चिन्ह सो पार्टीले स्वीकार्नु पर्ने अडानमा छ । सो विवाद समाधानका लागि सर्बोच्च अदालतले आज आयोग तथा राप्रपा नेपाल दुवै पक्षलाई छलफलमा बोलाएको छ । छलफल पश्चात विवाद समाधान भए मतपत्र छाप्ने काम सुरु हुने आयोगले जनाएको छ ।

यसैबीच, आयोगले प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको नमुना मतपत्र भने आजबाट छाप्ने भएको छ । आज र भोली नमुना छापेर पर्सीदेखि वास्तविक मतपत्र छाप्ने तयारी गरिएको आयोगका सह–प्रवक्ता सुर्यप्रसाद अर्यालले बताउनुभयो । सात वटै प्रदेशका लागि आवश्यक मतपत्रको छपाइ पश्चात् आगामी असोज ४ गतेदेखी प्रतिनिधिसभाको समानुपातिक तर्फको मतपत्र छाप्ने कार्यतालिका आयोगको छ । प्रतिनिधिसभाको समानुपातिक तर्फ सहभागी हुने दल ६८ वटा छन् । प्रदेशसभा निर्वाचनको समानुपातिकका लागि फरक फरक संख्यामा दलहरु दर्ता भएका छन् । 


प्रतिक्रिया