मुस्ताङमा कांग्रेसका थकाली निर्वाचित

मंसिर ५, २०७९ | मुस्ताङ

हिमालपारिको मुस्ताङमा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित हुनु भएको छ । थकालीले ३ हजार ९ सय ९२ मत मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत प्राप्त गर्नुभयो । यद्यपि, निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गर्न भने बाँकी छ । २०५० बैशाख २७ मा जन्मिएका थकाली सम्भवत कम उमेरका प्रतिनिधिसभा सदस्य हुनेछन् । 

नेकपा एमालेले मुस्ताङलाई आफ्नो पकड भन्दै अनिवार्य जितको क्षेत्रमा राखेको थियो । पराजित तुलाचन २०७४ मा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको थियो । यस निर्वाचनमा उम्मेदवार हुन नचाहे पनि जितेपछि मन्त्री बनाइदिने पार्टी नेतृत्वले आश्वासन दिएकाले तुलाचनले उम्मेदवारी दिनु भएको थियो ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका प्रविणकुमार शेरचनले १३ मत प्राप्त गर्नुभएको छ । मुस्ताङमा प्रतिनिधिसभातर्फ ८७ मत बदर भएका छन् । १० हजार ९५७ मतदाता रहेको मुस्ताङमा आइतबारको निर्वाचनमा ७ हजार २ सय ५९ मत खसेको थियो । 

मुस्ताङको थासाङ गाउँपालिकाको लेतेका निर्वाचित थकाली कांग्रेस नेता रोमी गौचनका छोरा हुन् । ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट उत्तीर्ण गरेका थकाली साविक लेतेमा कांग्रेस गाउँ सभापति, कांग्रेस जिल्ला सदस्य हुँदै हाल गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधि समेत हुनुहुन्थ्यो । 

थकाली लेतेमा होटल कालोपानी र पोखरामा त्रिथुंगा ट्राभल्स एन्ड टुर्स प्रालिका प्रबन्ध निर्देशक समेत हुनुहुन्छ । साथै उहाँले मुस्ताङमा किवि लगायत अर्गानिक कृषि फार्म पनि सञ्चालन गर्दै आउनु भएको छ । 


प्रतिक्रिया