बागलुङ १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी निर्वाचित

मंसिर ७, २०७९ | बागलुङ

बागलुङ क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी निर्वाचित हुनु भएको छ । नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद पाठकलाई २ हजार ६ सय २६ मतान्तरले पराजित गर्दै केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको हो । केसीले २१ हजार ४ सय ५१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका पाठकले १८ हजार ८ सय २५ मत प्राप्त गर्नुभयो । 

सत्ता गठबन्धनका साझा उमेदवार ८१ वर्षीय केसी र एमालेका पाठकबीचको प्रतिस्पर्धा रोचक थियो । २०५६ र २०६४ सालमा बागलुङ क्षेत्र नंं २ बाट निर्वाचित केसी २०७० सालमा भने बागलुङको प्रतिनिधित्व गरेर समानुपातिक तर्फबाट सांसद बन्नु भएको थियो ।

 केसी प्रत्यक्ष निर्वाचन लडेर संसद पुगेको यो तेस्रो पटक हो । २०७४ को निर्वाचनमा केसी सहितको बाम गठबन्धनबाट एमालेका पाठक बागलुङ १ बाट निर्वाचित हुनु भएको थियो ।

 निर्वाचित भएपछि केसीले संसदमा पुगेर राष्ट्रियता र गणतन्त्रको पक्षमा वकालत गर्ने प्रतिक्रिया दिनुभयो । ‘संविधान जोगाउने अभियानमा मेरो आवाज उठ्छ’, केसीले भन्नुभयो, ‘सुशासन र जनताको घरदैलोमा विकास लैजान पनि पहल गर्छु ।’ गणतन्त्रमाथि आएको कालो बादल हटाउन अझै धेरै मेहेनत गर्नुपर्ने उहाँले बताउनुभयो । 

२०१४ सालमा नेपाल कम्प्युनिष्ट पार्टीको सदस्य बनेका केसी २०३१ सालमा केन्द्रीय सदस्य हुनु भएको थियो । २०४१ सालमा मसालको महामन्त्री र २०४४ सालमा संयुक्त राष्ट्रिय जनआन्दोलन समितिको अध्यक्षको जिम्मेवारी निभाएका केसी २०५२ मा गठन भएको राजमोको केन्द्रीय अध्यक्ष हुनुहुन्छ । केसी अध्यक्ष भएदेखिनै संघीयताको विरोध गर्दै आउनु भएको छ ।


प्रतिक्रिया