प्रमुख दलका अध्यक्ष सहित शीर्ष नेताहरु विजयी

मंसिर ८, २०७९ | काठमाडौं

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउदै गर्दा प्रमुख दलका शीर्ष नेताहरुले विजयी हासिल गरेका छन् । पछिल्लो पटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट ४० हजार ६ सय ४८ मत प्राप्त गर्दै दोस्रो पटक निर्वाचित हुनुभयो । उहाँले कांग्रेस नेता कृष्ण प्रसाद सिटौलालाई ३ हजार २ सय ७६ मतान्तरले पराजित गर्नुभयो । कैलाली क्षेत्र नं.१ बाट नागरिक उनमुक्ती पार्टीकी अध्यक्ष रन्जीता श्रेष्ठले ३० हजार ४ सय ४ मत प्राप्त गर्दै कांग्रेसका राम जनम चौधरीलाई पराजित गर्नुभयो ।

यस्तै, आजै सार्वजनिक मतपरिणाम अनुसार एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल रौतहट क्षेत्र नं.१ बाट ३३ हजार ५ सय २२ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन क्षेत्र नं.२ बाट ४९ हजार २ सय ६४ मतकासाथ निर्वाचन हुनुभयो ।

यसैबीच, कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुरा क्षेत्र १ बाट २५ हजार ५ सय ३४ मतप्राप्त गर्दै विजयी हुदा, नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय गगन थापा, विश्व प्रकाश शर्मा, सहमहामन्त्री किशोर सिंह राठोरले चुनाव जित्नुभएको छ । त्यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ५२ हजार ३ सय १९ लोकप्रिय मतका साथ विजयी हुनुभएको छ । एमालेका उपमहासचिव पृथ्वी सुव्बा गुरुङ, सचिव त्रय योगेश कुमार भट्टराई, गोकर्ण विष्ट, टोपबहादुर राईमाझीले चुनाव जित्नुभएको छ ।

त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोरखा क्षेत्र २ बाट २६ हजार १ सय ३ मतकासाथ विजयी हुनुभएको छ । नेता देवेन्द्र पौडेल बागलुङ क्षेत्र नं.२ बाट निर्वाचित हुदा रोल्पा क्षेत्र १ बाट बर्षमान पुन विजयी हुनुभयो ।


प्रतिक्रिया