सुनसरी २ बाट एमालेका भीम आचार्य विजयी

मंसिर १०, २०७९ | सुनसरी

सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका भीम आचार्य निर्वाचित हुनु भएको छ । नेपाली कांग्रेसका सिताराम मेहतालाई पराजित गर्दै एमालेका आचार्य प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएको हो । 

आचार्यले ३२ हजार ८ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेका मेहताले २६ हजार ५८ मत प्राप्त गर्नुभयो । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका लाल विक्रम थापाले १९ हजार ३ सय ८६ मत प्राप्त गर्नुभयो । कांग्रेसका मेहता २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट ४१ हजार ४ सय ९५ मत सहित विजयी हुनु भएको थियो । 

एमालेका आचार्यले ०६४ यता सुनसरीको चुनावमा कतै पनि पराजय व्यहोर्नु परेको छैन । यसअघि संविधान सभा २०६४ र ०७० को चुनावमा आचार्य तत्कालीन सुनसरी क्षेत्र नम्बर ६ बाट विजयी हुनु भएको थियो भने ०७४ मा सुनसरी–१ को (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । 

आचार्य अन्तिम समयमा मुख्यमन्त्री समेत बन्नु भएको थियो । २०६५–०६९ सम्म एमाले संसदीय–संविधान सभा दलको प्रमुख सचेतक रहिसकेका आचार्य ०५८–०६५ सम्म पार्टीको कोशी अञ्चल ईन्चार्ज समेत बन्नु भएको थियो । 

नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटी सचिव, २०७२—७४ मा नेकपा (एमाले) प्रदेश १ कमिटीको संयोजक, ०७४-७८ मा प्रदेश १ कमिटीको इन्चार्ज समेत रहनु भएको थियो । 

२०७० सालमा गठित मन्त्रीमण्डलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका आचार्य ०७८ भदौ १० देखि कात्तिक १५ सम्म प्रदेश १ को मुख्यमन्त्री बन्नु भएको थियो । क्षेत्र नम्बर २ कांग्रेसका नेता सिताराम मेहताको बलियो पकड क्षेत्र मानिन्छ । 


प्रतिक्रिया