सुनसरीमा मतगणनामा ढिलाई

मंसिर १०, २०७९ | धरान

सुनसरीमा मतगणनामा ढिलाइ हुँदा अन्तिम नतिजाका लागि अझै केही दिन लाग्ने देखिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएको एक साता हुन लाग्दा समेत ४ वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा मत गणनाको परिणाम आउन सकेको छैन । 

ठूलो संख्यामा मतदाता भएको र विकट पहाडी भेगका निर्वाचन क्षेत्रका चुनावी परिणाम अन्तिम चरणमा पुगेको बेला सुनसरीमा भने कुनै क्षेत्रको नतिजा सार्वजनिक भएको छैन । मतगणना स्थलको व्यवस्थापकीय कमजोरी र गणकहरु तालिम प्राप्त नभएका कारण परिणाम आउन समय लागेको बताइएको छ । 

कुल ५ लाख ४४ हजार ९ सय ४१ मतदाता मध्ये ३ लाख ४६ हजार ६ सय ९३ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ४ वटा निर्वाचन क्षेत्रमा १ सय ६६ मतदान स्थल, ५ सय ११ मतदान केन्द्र, २ अस्थायी मतदान केन्द्र रहेको छ । 

मतगणनास्थल साँघुरो हुनु, समानुपातिकको मतपत्र पनि सँगै गणना हुनु, संवेदनशील निर्वाचन क्षेत्र तथा हाइप्रोफाइल उम्मेदवारका कारण संवेदनशील भएर मतगणना गराउन खोज्दा ढिलाइ भएको निर्वाचन अधिकृत उमाकान्त पौडेलले बताउनुभयो । सुरुमा मतगणनाले लय टिप्न गाह्रो भएपनि अहिले सरासर काम भइरहेको उहाँले बताउनुभयो ।

सो क्षेत्रमा नेपाली कांग्रेसका उपसभापति एवं पटक पटक मन्त्री भइसकेका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच कडा प्रतिस्पर्धा भइरहेको छ । सुनसरी १ मा कुल १ लाख ४१ हजार ८७८ मतदाता रहेकोमा प्रदेश सभा (क) मा ७१ हजार ३ सय ४० र (ख) मा ७० हजार ५ सय ३८ मतदाता छन् । ती मध्ये प्रतिनिधि सभा सदस्य र प्रदेश सभा (ख) को मतगणना सुस्त भएको छ ।

 प्रदेश सभा (ख) को मतगणना शुक्रबारदेखि मात्र सुरु भएको छ । यसअघिको स्थानीय तहको निर्वाचनमा पनि अन्तिम नतिजा सार्वजनिक हुनलाई धरानमा एक साता भन्दा बढी समय लागेको थियो । समानुपातिक मत पनि सँगै गणना भइरहेकाले ढिलाई भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विगतका चुनावमा झै यसपटक सुनसरीमा मतगणनाका विषयमा खासै विवाद भने देखिएको छैन ।

 प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सुनसरी क्षेत्र नम्बर १ को धरान सभागृहमा, २ को इनरुवास्थित शिक्षा तालिम केन्द्रमा, ३ को दुहवी कवर्ड हलमा र ४ को इनरुवाको भगवती माविको हलमा मतगणना भइहेको छ । 

सुनसरी क्षेत्र नम्बर ४ मा पनि मतगणना सुस्त भएको छ । कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की र एमालेका जगदिश प्रसाद कसियैतबीच प्रतिनिधि सभा सदस्यका लागि कडा प्रतिस्पर्धा देखिएको छ । सो क्षेत्रमा प्रदेश सभा (क) मा ६७ हजार ६३३ र प्रदेशसभा (ख) मा ६० हजार ४ सय ३२ मतदाता रहेको छ । सुनसरीमा पुरुष भन्दा महिला मतदाताको मत संख्या ८ हजार भन्दा बढी देखिएको छ । 


प्रतिक्रिया