कांग्रेस सभापति देउवा निकट केन्द्रीय सदस्य दुई कित्तामा

मंसिर १२, २०८२ | काठमाडौं

नेपाली कांग्रेसमा महाधिवेशनको बिषयलाई लिएर विवाद बढिरहेका बेला सभापति शेरबहादुर देउवानिकट केन्द्रीय सदस्यहरु दुई कित्ता उभिएका छन् ।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको महाधिवेशन गर्नुपर्ने र चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने पक्षमा रहेका दुई समूहले छुट्टाछुट्टै भेला गरेका छन् । केही पूर्वपदाधिकारीसहित झन्डै ९० जना केन्द्रीय सदस्यले बानेश्वरमा भेला गरेका थिए भने २८ जना केन्द्रीय सदस्यले ललितपुरको कुपण्डोलमा भेला गरेका हुन् ।

बानेश्वरको भेलामा पूर्वउपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलासहित केन्द्रीय सदस्य सहभागी भएका थिए । सो भेलाले निर्वाचनमा होमिनुपर्ने भएकाले महाधिवेशन वैशाखमा मात्र गर्न उपयुक्त हुने निष्कर्ष निकालेको नेताले बताएका छन् ।

उता कुपन्डोलमा भएको भेलाले चुनावअघि महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको नेताहरुले बताएका छन् । सभापति देउवा पक्षका केन्द्रीय सदस्य राजेन्द्र केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, डिला संग्रौला, उदयशम्शेर राणा लगायत नेता भेलामा पुगेका थिए ।

नेता आङगेलु शेर्पाले तत्काल महाधिवेशन मिति तोक्न नेतृत्वलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिनुभयो । महाधिवेशनको विवाद साम्य नभएपछि सभापति देउवाले पनि आन्तरिक छलफल तीव्र बनाउनुभएको छ । 


प्रतिक्रिया