महाधिवेशनको सकसः कांग्रेस बैठक फेरि स्थगित

रेडियो कान्तिपुर संवाददाता

मंसिर १२, २०८२ | काठमाडौं

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि स्थगित भएको छ । हिजो स्थगित गरिएको बैठक आजका लागि बोलाइएको थियो । दिउँसो २ बजेका लागि तय भएको बैठक आज पनि नबस्ने भएको हो । बैठक पर्सी आइतबार २ बजे बोलाइएको पार्टी केन्द्रिय कार्यालयले जनाएको छ । हिजो पनि नेताहरुबीच पटक–पटक भएका छलफल सहमतिमा पुग्न नसकेपछि बैठक आइतबारसम्मका लागि सारिएको हो । सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्नुभएको थियो भने कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि सहमति जुटाउन महामन्त्रीद्वय थापा र शर्मासँग छुट्टै छलफल गर्नुभएको थियो । महामन्त्रीद्वय फागुन २१ अघि नै महाधिवेशन हुनुपर्ने अडानमा छन् भने कांग्रेस संस्थापन पक्षले भने चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने अडान छाडेको छैन । महाधिवेशनको मिति तोक्ने विषयमा सहमति नभएकै कारण कांग्रेस अनिर्णित बन्दै गएको छ । 

यसैबीच बैठक सारिएकोमा माफी माग्दै कार्यबाहक सभापति खड्काले सहमति नहुन्जेल बैठक बस्न नसक्ने बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले सर्वसम्मत निर्णय हुने अवस्था नबनेसम्म बैठक सार्न बाध्य हुने उल्लेख गर्नुभएको हो । बैठक स्थगित भएकोमा आफूलाई जति गाली गरेपनि स्वीकार्ने भन्दै सहमतिमा आउन नेताहरुलाई आग्रह गर्नुभएको छ ।  


प्रतिक्रिया