उदयपुर क्षेत्र नं १ को मतगणना अन्यौल

रेडियो कान्तिपुर संवाददाता

मंसिर १३, २०७९

प्रदेशसभाको समेत मतपत्र भेटिएपछि रोकिएको उदयपुर १ मा मतगणना कार्य अझै शुरु हुन सकेको छैन । निर्वाचन अधिकृतको कार्यालयले पटकपटक सार्वजनिक सूचना जारी गर्दै मतगणना सुरु गर्ने भने पनि एमालेको अवरोधका कारण मतगणना शुरु हुन नसकेको हो ।

मतगणनाका क्रममा भेटिएको प्रदेशसभातर्फको १ सय मतलाई बदर गर्दै मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको थियो । एमालेले विरोध गरेपछि मतगणना अझै सुरु भएको छैन । मतगणनाका क्रममा गत आईतबार १० वटा मतपेटिकामा उदयपुर १ (२) प्रदेश सभाको सय मत पत्र भेटिएकोले गणना रोकिएको थियो । ६३ हजार ८० मत गणना भइसकेपछि थप गणनाको लागि १० मतपेटिका खोलिएको हो । त्यसै क्रममा प्रदेश २ को १ सय मतपत्र भेटिएपछि दलहरुले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका हुन् । ७६ हजार ७५६ मत खसेको यो क्षेत्रको ६३ हजार ८० मत गणना भइसकेको छ । गणना भइसकेकोमा कांग्रेसका नारायण खड्काले १ हजार ८२५ मतले अग्रता लिनु भएको छ । खड्काले २७ हजार ४८४ मत प्राप्त गर्नुभएको छ भने एमालेकी मन्जुकुमारी चौधरीले २५ हजार ६ सय ५९ मत प्राप्त गर्नुभएको छ । 


प्रतिक्रिया