एमालेबाट निर्वाचित चौधरीको विजयी जुलुसमाथि ढुंगा प्रहार

मंसिर १४, २०७९ | मोरङ

सुनसरीको क्षेत्र ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेकी भगवती चौधरीको विजय जुलुसका क्रममा दुहबीमा ढुंगा प्रहार भएको छ । चौधरीको विजय र्‍यालीमा सहभागी कार्यकर्तामाथि कांग्रेसका कार्यकर्ताले ढुंगा प्रहार गरेपछि तनाव उत्पन्न भएको हो । 

विजय जुलुसमा ढुंगा प्रहार गरेपछि दुवै पक्षबीच झडप भएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विजयी जुलुसको क्रममा विवाद भएको तर सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिइसकेको बताउनुभयो । 

‘विजयी जुलुसको क्रममा आफ्नो घर अगाडि आएर चर्को साउण्डमा डिजे बजाउनुका साथै हुलहुज्जत गरेको कांग्रेस पक्षको आरोप छ,’ प्रजिअ यादवले भन्नुभयो, ‘तर एमाले पक्षले हामी सभ्य तरिकाले आफ्नो मर्यादामा रहेर विजयी जुलुस मनाउने क्रममा ढुगा प्रहार गरेको आरोप छ ।’ 

स्थानीयसँग समन्वय गरेर स्थिति नियन्त्रणमा लिनुका साथै अब पुन: कुनै अप्रिय घटना हुन नदिन जिल्ला तहको नेतासँग समन्वय गरिरहेको प्रजिअ यादवले बताउनुभयो । सुनसरी ३ मा एमालेकी भगवती चौधरीसँग कांग्रेसका विजय कुमार गच्छदार ५ हजार १ सय ८८ मतान्तरले पराजित हुनु भएको थियो ।


प्रतिक्रिया