लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय दाङको देउखुरी सारियो

मंसिर २०, २०७९ | रुपन्देही

लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय राताराता दाङको देउखुरी सारिएको छ । बुटवल स्थायी संरचना नबनाइ प्रदेश मन्त्रालयहरु नसार्न दवाव बढेपनि प्रदेशको मुकाम बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सामान रातारात दाङको देउखुरी सारिएको हो । 

बुटवलमा अब मुख्यमन्त्री कार्यालय बन्द रहने र दाङमै खुल्ने प्रदेश सरकारले जनाएको छ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले ३ वटा ट्रकमा सामानहरु लोड गरी राति नै दाङ लगिएको बताउनुभयो ।

गएराति साँढे १० बजे मुख्यमन्त्री र सचिवालयबाट ल्याइएको सामान देउखुरीको राप्ती गाउँपालिका ३ स्थित राप्ती प्राविधिक शिक्षालयमा रहेको मुख्यमन्त्री कार्यालयमा आज विहान झारिएको हो । यसअघि नेपाली कांग्रेस रुपन्देहीले मुख्यमन्त्री कार्यालयमै पुगेर स्थायी पूर्वाधार नबनेको अवस्थामा तत्काल मन्त्रालयहरु नसार्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका थिए । 

नेकपा एमाले रुपन्देही र एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित ४ सांसदहरु लिला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुल्सीप्रसाद चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ बन्ने सरकारको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी निर्वाचनको अन्तिम नतिजा नआउदै मन्त्रालयहरु सार्ने काम तुरुन्त रोक्न माग गरेका थिए । कर्मचारीहरुले समेत पूर्वाधार वीना राजधानी सार्दा समस्या हुने भन्दै नसार्न माग सहित ज्ञापनपत्र बुझाएका थिए । 


प्रतिक्रिया