विराटनगर कष्टम यार्ड सम्म विहिवारदेखि कार्गो रेल चल्ने

जेष्ठ १७, २०८०

विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकी आईसीपीमा निर्माण भएको रेल्वे यार्डसम्म भोलिबाट कार्गो रेल सेवा सञ्चालन हुने भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले भोलि नयाँ दिल्लीमा भन्सार यार्डको सयुक्त रुपमा उद्घाटन गरेर कार्गो रेल सञ्चालनको अनुमति दिने तयारी गरेको विराटनगर भन्सार प्रमुख ज्ञानेन्द्र ढकालले बताउनुभयो । भन्सार यार्डसम्म कार्गो रेल सेवा सञ्चालन भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगका कच्चा पदार्थ र उत्पादित वस्तुको आयात–निर्यात कार्गो रेलबाट हुने ढकालको भनाई छ । 

उद्घाटनको दिन फलाम उद्योगको कच्चा पदार्थ कार्गो रेलबाट आयात गर्ने तयारी उद्योगीले गरेका छन् । ढकालका अनुसार यसअघि पनि फलाम उद्योगका कच्चा पदार्थ रेलबाट नै आयात हुँदै आएको थियो । भन्सार यार्डसम्म कार्गो रेल सेवा सुरु भएपछि औद्योगिक कच्चा पदार्थको ढुवानीमा कम्तीमा ४० प्रतिशत लागत घट्ने मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताउनुभयो । सुनसरी–मोरङ औद्योगिक करिडोरमा साना ठूला गरेर पाँच सय उद्योग छन् ।


प्रतिक्रिया