लुम्बिनीको नीति तथा कार्यक्रममा पुरानैलाई निरन्तरता

जेष्ठ २६, २०८०

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । यसअघिका धेरै कार्यक्रमलाई नै निरन्तरता दिदै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको हो । सरकारले सार्वजनिक गरेको कार्यक्रममा कृषि क्षेत्रको व्यावसायिक प्रवर्धन, बजारीकरण र रोजगारी केन्द्रित कृषिलाई प्राथमिकतामा राखेको छ । रोजगारी सिर्जना गर्ने नवीनतम उद्योग र पर्यटन क्षेत्रलाई पनि सरकारले प्राथमिकता दिएको छ । 

सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले आधुनिक शहर सहितको प्रदेश राजधानीलाई व्यवस्थित गर्न गुरुयोजना निर्माण भएर जग्गा व्यवस्थापन, ल्यान्ड पुलिङ र भौतिक पूर्वाधार निर्माणका कार्य शीघ्र रुपमा अघि बढेको बताउनुभयो । उत्पादन र उत्पादकत्व वृद्धिको माध्यमबाट आत्मनिर्भर र समृद्ध प्रदेश बनाउन रणनीतिक प्राथमिकता केन्द्रित हुने गरी कार्यक्रम सञ्चालन गरिने नीति सरकारले लिएको छ । कृषिको प्रवर्धनका लागि सघन व्यवसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्ने कार्यक्रममा उल्लेख छ । 

पहाडी जिल्लाको बढ्दो बसाईसराई रोक्न ‘एक जिल्ला : एक नमूना बस्ती’ नारा पनि सरकारले अघि सारेको छ । मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम मार्फत बेरोजगार युवा शक्तिलाई बजार माग र रुचि अनुरुपको सिपमूलक तालिम प्रदान गर्दै उद्यमशिलताको विकास मार्फत रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने प्रदेश सरकारको लक्ष्य छ । 


प्रतिक्रिया