मुख्यमन्त्री यादवलाई एमालेले पनि दियो विश्वासको मत

जेष्ठ ३०, २०८०

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश सभाबाट दोश्रो पटक विश्वासको मत प्राप्त गर्नु भएको छ । प्रदेश सभामा उपस्थित सबै सांसदहरुले विश्वासको मत दिएका हुन् । मख्यमन्त्री यादवले १ सय ३ मत प्राप्त गर्नु भएको छ ।

यसअघि पनि मुख्यमन्त्री यादवले १ सय २ मत सत प्रतिसत नै प्राप्त गर्नु भएको थियो । जसपाबाट मुख्यमन्त्री बनेका यादवलाई प्रदेश सभाको ठूलो दल एमाले, दोस्रो ठूलो दल काग्रेस, जनमत, लोसपा, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले समेत विश्वातको मत दिएको हो । 

गत पुस २७ गते ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका जसपा संसदीय दलका नेता यादवलाई प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेस सहित १० वटै दलले पहिलो पटक विश्वासको मत दिएका थिए । मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न ५४ सांसद आवश्यक पर्छ । मधेश प्रदेशमा १ सय ७ जना प्रदेश सांसद छन् । नेकपा एमालेले जेठ १ गते समर्थन फिर्ता लिएपछि आज ३० औं दिनमा मुख्यमन्त्री यादवले आकस्मिक रुपमा विश्वासको मत लिनु भएको हो । 

समीकरण फेरिएपछि चैत २१ मा मधेश सरकारबाट बाहिरिएको एमाले जेठ १ गते समर्थन फिर्ता लिएको थियो । मधेश प्रदेशमा जसपाको १८, एमालेको २३, काग्रेसको २२, जनमतको १३, लोसपा र माओवादीको ९/९ जना, एकीकृत समाजवादीका ७ जना, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना र ३ जना स्वतन्त्र सांसद छन् ।


प्रतिक्रिया