पाँच दिने चीन भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वेदश फर्किदै

भाद्र १८, २०८२ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससिओ) प्लसको शिखर सम्मेलनमा भाग लिई आज स्वदेश फर्किदै हुनुहुन्छ ।

 नेपाल फर्किनुअघि प्रधानमन्त्री ओलीले बेइजिङमा आयोजित फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८० औँ वार्षिकोत्सव समारोहमा सहभागी हुनुभएको छ । 

सोही अवसरमा चीन सरकारले आज बिहान भव्य सैन्य परेडको आयोजना गरेको थियो। प्रधानमन्त्री ओली भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिनतर्फ प्रस्थान गर्नुभएको थियो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सीसँग तियानजिनमा भेटवार्ता गर्नुभएको थियो । 

यस्तै, प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरू रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । त्यसैगरी, प्रधानमन्त्री ओलीले हिजो चीनका उपराष्ट्रपति हान चङगसँग भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्नुभयो । नेपाल सन् २०१६ देखि सो संगठनको संवाद साझेदार रहँदै आएको छ 


प्रतिक्रिया