ललिता निवास प्रकरण : पक्राउ परेका ७ मध्ये तीन जना रिहा

असार १२, २०८० | काठमाडौं

ललिता निवासको जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको सात मध्ये तीन जनालाई कागज गरेर छोडेको छ । पूर्वसह सचिव कलाधर देउजा, पूर्व उपसचिव हुपेन्द्रमणि केसी र सुरेन्द्र कपालीलाई पक्राउ गरिएको केही घण्टामै कागज गरेर छाडिएको सीआइबीका प्रवक्ता संजयसिंह थापाले बताउनुभयो ।

गत साउन १९ गते सर्वोच्च अदालतले उनीहरु तीनै जनालाई पक्राउ नगरी हिरासत बाहिरै राखेर अनुसन्धान गर्न अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको अन्तरिम आदेशको सो प्रमाण पेस गरेपछि आरोपित तीन जनालाई प्रहरीले कागज गराएर रिहा गरिएको प्रवक्ता थापाले बताउनुभयो ।

उनीहरुलाई हिरासत बाहिरै राखेर अनुसन्धान गरिने छ । प्रहरीले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीर कुमार शाह, भाटभटेनी सुपर मार्केटका संचालक मिनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई भने प्रहरी हिरासतमा राखिएको प्रवक्ता थापाले जानकारी दिनुभयो ।

प्रहरीले आजै भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङ, पूर्व उच्च पदस्थ कर्मचारी सहित ७ जनालाई पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरण बाहिर आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास प्रकरणका दोषीलाई कारवाही गर्ने बताइरहँदा प्रहरीले सो विषयको फाइल खोलेर अनुसन्धान थालेको हो । सीआइबीले तीन वर्षअघि ललिता निवासको १ सय ३६ रोपनी भन्दा बढी जग्गा हिनामिना भएको निष्कर्ष निकालेको थियो ।

जग्गा हिनामिना प्रकरणमा विभिन्न भूतपूर्व उच्चपदस्थ अधिकारी सहित ३ सय जना भन्दा बढीलाई मुद्दा चलाउन सिफारिस गर्दै सीआइबीको टोलीले अन्तिम प्रतिवेदन तयार पारेको थियो । प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाउँदा सो कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै फाइल फिर्ता पठाएपछि अनुसन्धान रोकिएको थियो । सरकारी जग्गा व्यक्तिको नाममा कायम गरी हिनामिना गरेको प्रकरणको भ्रष्टाचार मुद्दा भने विशेष अदालतमा विचाराधीन छ । 


प्रतिक्रिया