कोशी प्रदेशमा सरकार गठनका लागि आहृवान

श्रावण १२, २०८०

कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई सरकार गठनका लागि दावी पेश गर्न आहृवान गर्नु भएको छ । सर्वोच्च अदालतले जारी गरेको परमादेश अनुसार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि दावी पेश गर्न उहांले आह्वान गर्नु भएको हो । प्रदेश प्रमुख खापुङले सरकार गठनका लागि दावी पेश गर्न साउन १६ गते अपरान्ह ५ बजेसम्मका लागि समय दिनु भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

विज्ञप्तीमा सर्वोच्च अदालतको पूर्ण इजलासले हिजो जुन बिन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत् तवरले प्रक्रिया अगाडि बढाउनु मनासिव हुने देखिएको हुंदा साउन १७ गतेभित्र संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नू भन्ने परमादेश जारी भएकोले सोही आधारमा सरकार गठनका लागि आहृवान गरिएको उल्लेख छ । सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ । तर गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाहेक १२, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ र एमालेका ४० र राप्रपाका ६ प्रदेश सांसद छन् । अहिलेको राजनीतिक समीकरणमा कसैको सरकार गठन हुने अवस्था देखिदैन । गठबन्धन दलको सरकार गठनका लागि राप्रपाको समर्थन आवश्यक देखिएको छ भने एमालेको सरकार गठनका लागि राप्रपासंगै गठबन्धन दलका दुई प्रदेश सांसदको समर्थन आवश्यक छ ।

सर्वोच्च अदालतले तटस्थ भूमिकामा रहेका सभामुख बाबुराम गौतमको समर्थनमा प्रदेश प्रमुख खापुङले गठबन्धन दल कांग्रेसका नेता उद्धब थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने गरेको निर्णय बद्दर गर्दै परमादेश जारी गरेपछि सरकार गठनका लागि आहृवान गरिएको हो । 


प्रतिक्रिया