सुदूरपश्चिम प्रदेश सरकारले ६ महिनापछि पायो पूर्णता, राज्यमन्त्री सहित तीन जना नियुक्त

श्रावण १७, २०८० | धनगढी

गठन भएको झण्डै छ महिनापछि बल्ल सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्दै बुधबार मन्त्रिपरिषद्लाई पूर्णता दिनु भएको हो । मुख्यमन्त्री शाहले दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्नु भएको हो । 

नागरिक उन्मुक्ति पार्टीका सांसद रामेश्वर चौधरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त हुनु भएको छ भने कैलाश चौधरीलार्ई राज्यमन्त्री नियुक्त गरिएको छ । गत माघ २७ गते गठित कांग्रेस नेतृत्वको वर्तमान सरकारमा भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुरुदेखि नै मन्त्रीविहीन थियो । 

कांग्रेसका तर्फबाट मन्त्री रहेका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परि मृत्यु भएपछि रिक्त रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कांग्रेसले सांसद शिवराज भट्टलाई मन्त्री पठाएको छ । प्रदेश प्रमुख देवराज जोशीले नवनियुक्त मन्त्रीहरुको शपथ गराउनु भएको हो । 

आन्तरिक मामिला मन्त्रीमा नियुक्त भट्ट बैतडीको प्रदेशसभा (२) बाट निर्वाचित हुनु भएको थियो भने नागरिक उन्मुक्तिका रामेश्वर चौधरी कैलाली २ (२) र कैलाश चौधरी कैलाली १ (१) बाट निर्वाचित हुनु भएको थियो । रामेश्वर चौधरी यसअघि संसदीय दलको नेता हुनुहुन्थ्यो । बुधबार नागरिक उन्मुक्ति सरकारमा सामेल भएपछि पनि पार्टीभित्र विवाद देखिएको छ । 


प्रतिक्रिया