प्रतिनिधिसभा बैठक आजपनि स्थगित, २६ गते बस्ने

श्रावण २४, २०८० | काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । क्विन्टल सुन तस्करीको छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेले आजपनि संसद् बैठक अवरुद्ध गरेको हो । साउन १० गते यता एमालेले प्रतिनिधिसभाको बैठक लगातार अवरुद्ध गर्दै आएको छ । आजको बैठकको सुरुमै बोल्दै एमाले सांसद सुर्य थापाले सत्तारुढ प्रतिपक्षीलाई पेलेरै जान खोजेको भन्दै आपत्ति जनाउनुभयो ।

साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टल बढी सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसको छानबिन सुरुमा राजश्व अनुसन्धान विभागले गरेको थियो भने पछि नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको छ । तर, प्रतिपक्षी एमालेले सो सुन तस्करीको छानबिन गर्नका लागि उच्च स्तरीय समिति गठनको माग गर्दै संसद् अवरोध जारी राखेको छ ।

प्रतिनिधिसभाको हिजोको बैठकमा सुन तस्करीको छानबिन राज्यका नियमित संयन्त्रहरुले गर्नुपर्ने र उनीहरुलाई विश्वास गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आग्रह गर्नुभएको थियो । संसदमा अवरोध गर्ने प्रतिपक्षी र अवरोधको विरोध गर्ने सत्ताका सांसदहरुले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अगाडि बढाउनका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

सभामुखको आग्रहलाई नकार्दै प्रतिपक्षीले रोस्टम घेराउ गर्न थालेपछि बैठक साउन २६ गते सम्मका लागि स्थगित भएको छ ।


प्रतिक्रिया