एमाले नेता कार्की कोशीको मुख्यमन्त्री बन्दै

भाद्र २२, २०८०

सर्वोच्च अदालतको परमादेश अनुसार एमाले नेता हिक्मतकुमार कार्की आज कोशी प्रदेशको मुख्यमन्त्री बन्दै हुनुहुन्छ । 

प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरी आज बेलुका ६ बजे सपथ ग्रहण गराउने तय भएको प्रदेश प्रमुख कार्यालयका निमित सचिव नरेन्ऽ श्रेष्ठले बताउनुभयो । सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको संसदीय दलका नेताको रुपमा कार्की मुख्यमन्त्री बन्न लाग्नुभएको हो । 

न्यायाधीश सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित सर्वोच्चको पूर्ण इजलासले ४८ घण्टाभित्र मन्त्रिपरिषद् गठन गर्न प्रदेश प्रमुखका नाममा हिजो परमादेश जारी गरेको थियो । मुख्यमन्त्री नियुक्त भएपछि कार्कीले संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसके स्वतः पदमुक्त हुनुहुनेछ । 

९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेको उपसभामुखसहित ४० सदस्य छन् । नेपाली कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ सांसद छन् । 


प्रतिक्रिया