महेन्द्रनगरमा संविधान चोक निषेधित क्षेत्र घोषणा
मंसिर २८, २०८० | कञ्चनपुर
राष्ट्रिय प्रजातन्त्र पार्टीले कञ्चनपुरको संविधान चोकमा आमसभा र पुर्व राजा महेन्द्रको शालिक अनावरण गर्ने घोषणापछि सो क्षेत्रलाई जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको छ । मदन चोकदेखि दशरथ चोक सम्मको क्षेत्रलाई आज बिहानदेखि एक साताका लागि निषेधित क्षेत्र घोषणा गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीका अनुसार सो क्षेत्रमा सभा, समारोह, भेला र प्रदर्शन गर्न पाइने छैन । पूर्व राजा महेन्द्रको शालिक राख्ने विषयमा मतभेद रहेकाले शान्ति सुव्यवस्था कायम राख्न निषेधित क्षेत्र घोषणा गरिएको हो । सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको हाम्रा सहकर्मीले जनाएका छन् । राप्रपाले संविधान चोकमा बिहिबार आमसभासंगै पुर्व राजा महेन्दको शालिक अनावरण गर्ने घोषणा गरेको थियो । आमसभाका लागि अध्यक्ष राजेन्द्र लिङदेन, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा र प्रवक्ता ज्ञानेन्द्र शाही महेन्द्रनगर पुगेका छन् ।
संविधान चोकमा निषेधित क्षेत्र घोषणा गरिएपछि राप्रपाले कार्यक्रम स्थल परिवर्तन गरेको छ । राप्रपाले सब्जिमण्डी रोडमा आमसभा आयोजना गर्ने तयारी गरेको छ ।