सर्लाहीमा प्रदर्शनका क्रममा एक युवकको मृत्यु, भोलि विहानसम्म कर्फ्यु

पुस २०, २०८० | सर्लाही

सर्लाहीको बरहथवामा प्राथमिक अस्पतालको विषयमा विवादपछि भएको प्रदर्शनका क्रममा एक युवकको मृत्यु भएको छ ।

बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्न्तीका लागि मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर पालिकाकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै प्रर्दशन भएको हो ।

प्रर्दशनका क्रममा मृत्यु हुनेको नाम ठेगाना भने अहिलेसम्म खुल्न सकेको छैन । प्रदर्शन उग्र बनेपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुसेल र हवाई फायर गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले बताउनुभयो ।

प्रहरीले चलाएको गोली लागेर ती व्यक्तिको मृत्यु भएको प्रदर्शनकारीको आरोप छ । यता प्रमुख जिल्ला अधिकारी धमलाले भने मृत्युको कारण खुल्न नसकेको बताउनुभयो । विरोधमा उत्रीएका प्रदर्शनकारीले नगरपालिका कार्यालय तथा नगर प्रमुखको निवासमा ढुंगामुढा गर्नथालेपछि प्रहरीले अश्रुसेल र हवाई फायर गरेको बताइएको छ ।

बरहथवा नगरपालिकाले केही समयअघि सो प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैय्याको बनाउन प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । तर, नगरापलिकाको योजना कार्यान्वयन नभएको भन्दै कंग्रेस लगायत विभिन्न दलहरुले विरोध गर्दै आएका छन् ।

यसैबीच प्रदर्शन जारी राखेपछि स्थानीय प्रशासनले बरहथावा बजार क्षेत्रमा भोलि विहान ८ बजेसम्मका लागि कर्फ्यु लगाएको छ । सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, ढुंगामुढा लगायत विरोध प्रदर्शनले सर्वसाधारणको सुरक्षामा जोखिम हुन सक्ने भएकाले कर्फ्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले बताउनुभयो ।

प्रशासनका अनुसार बरहथवाको बजार क्षेत्रको पूर्वमा शितापुर जाने बाटोको ब्रम्हस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती पुल सम्मको क्षेत्रमा आज साँझ साँढे ५ बजेबाट कर्फ्यु जारी गरिएको हो ।  


प्रतिक्रिया