सुदूरपश्चिममा फेरि राजधानीकै बहस

माघ १०, २०८० | धनगढी

सुदूरपश्चिम प्रदेश सभामा प्रदेशको राजधानीको विषयलाई लिएर आवाज उठेको छ । मंगलबार बसेको सुदूरपश्चिम प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै डोटीका सांसद शिवसिंह ओलीले प्रदेश राजधानी दीपायलमा बनाउनुपर्ने बताएपछि पुनः प्रदेश राजधानीको बहस छेडिएको छ । 

२०७५ असोज १२ गते सुदूरपश्चिमको राजधानी कैलालीको गोदावरी नगरपालिका–४ तेघरी गोदावरीमा निर्माण गर्ने निर्णय गरेको थियो । गोदावरीमा प्रदेश राजधानी बनाउने निर्णय भएको वर्षौं भईसक्दा पनि अहिलेसम्म कार्यान्वय हुन सकेको छैन । 

यसअघि गोदावरीमा राजधानी बनाउनका लागि माओवादी केन्द्र र एमालेका ३८ जना सांसदले पक्षमा मतदान गरेका थिए भने नेपाली कांग्रेसका १२ र राजपाका २ सांसदले असहमति जनाउँदै मतदान प्रक्रिया बहिस्कार गरेका थिए । तर, तेघरी गोदावरीमा राजधानी बनाउने निर्णय पनि अहिलेसम्म अलपत्र अवस्था छ । 

मंगलबारको बैठकमा सांसद ओलीले सरकारको नियत हेर्दा यसअघि प्रदेश सभाबाट भएको राजधानीको निर्णय कार्यान्वयन नगर्ने देखिएको बताउनुभयो ।

‘अहिलेसम्म हामीले संघीय सरकारबाट जग्गा प्राप्ति पनि गर्न सकेका छैनौं,’ उहाँले भन्नुभयो, ‘त्यसैले पुरानो क्षेत्रीय सदरमुकाम रहेको र सन्तुलित विकास तथा पहाडी जिल्लाका लागि पनि पायक पर्ने स्थान डोटीको दीपायलमा नै राजधानी बनाउन प्रदेश सभामा पुनर्विचार गर्न आग्रह गर्दछु ।’

तेघरी गोदावरीको जंगल विवादका कारण राजधानीका लागि आवश्यक कामहरु सुरु हुन सकेको छैन । गोदावरीमा राजधानीको निर्णय कार्यान्वयन हुन नसकेपछि नेताहरु आफै अस्पष्ट देखिन्छन् ।

अर्कोतिर नेताहरु राजधानीका सन्दर्भमा बेलाबखत भ्रम सिर्जना गर्ने अभिव्यक्ति दिँदै आएका छन् । गत भदौ महिनामा डडेलधुरामा पुुगेर मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकार सम्मेलनका क्रममा कैलालीको तेघरी जंगल क्षेत्रमा वनको विवादका कारण संरचना बनाउन नसकिएकाले राजधानी सार्न सकिने अभिब्यक्ति दिनु भएको थियो ।

यस्तै, तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि ०७९ बैशाख २७ गते डडेलधुराको चुनावी सभालाई सम्बोधन गर्दै प्रदेश राजधानी डडेलधुरामा सार्न सकिने बताउनु भएको थियो । 


प्रतिक्रिया