कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुँदै

माघ २५, २०८० | विराटनगर

कोशी प्रदेश सरकार र प्रदेश १ पुनःनामाङ्कन सयुक्त संघर्ष समितिबीच आज (बिहीबार) वार्ता हुने भएको छ । 

पहिचान सहितको कोशी प्रदेशको पुनःनामाङकन गरिनुपर्ने लगायत माग गर्दै आन्दोलन गर्दै आएको समितिले आज सरकारसँग वार्ता गर्न लागेको हो । 

पहिचान पक्षधरहरुले सरकासँग वार्ताका लागि ११ सदस्यीय समिति गठन गरेको छ । प्रदेश सरकार र पहिचान पक्षधरबीचको वार्ता दिँउसो ३ बजेपछि विराटनगरमा सुरु हुनेछ ।

यसअघि गत ६ माघमा बसेको मन्त्रिपरिषदको बैठकले आन्दोलनरत पक्षस“ग वार्ताका लागि भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेर वार्ताका लागि आह्वान गरेको थियो । 

वार्तामा कोशी प्रदेश नाम खारेज गरी पहिचान सहितको पुनःनामाङकन गर्नुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेर थुनामा रहेका आशिष लिम्बुको रिहाई, प्रहरीको गोली लागेर घाइते भएका इलाम चुलाचुलीका गजेन्द्र फागु लगायत घाइतेको उपचारको विषयलाई मुख्य एवेन्डा बनाउने तयारी गरेको छ ।

यस्तै, झुटा आरोपमा मुद्दा चलाइएका झापा सयुक्त संघर्ष समितिका संयोजक पाण्डलाल चौधरी र इलामका बुलेट किराती लगायतको मुद्दा फिर्ता लिनुपर्ने लगायत विषय उठाउने तयारी गरेको समितिले जनाएको छ । 

गत फागुन १७ गतेको प्रदेश सभा बैठकले प्रदेशको नाम कोशी पारित गरेपछि पहिचान पक्षले पुनःनामकरणको माग गर्दै विरोध गर्दै आएका छन् । 

सो क्रममा पहिचान पक्षका पदम लिम्बुको मृत्यु भएपछि विरोधको कार्यक्रम थप सशक्त बन्दै आएको छ । 

उनीहरुले संघीय र प्रदेश मन्त्री तथा सांसदलाई आफनो निर्वाचन क्षेत्रमा आउजाउमा समेत अवरोध गर्दै आएका छन् । 

एमालेका हिक्मतकुमार कार्की नेतृत्वको तत्कालीन सरकारले २०७९ फागुन १७ मा प्रदेशको नाम कोशी राखेपछि पहिचानका आधारमा नाम राख्नुपर्ने मागसहित पहिचान पक्षधरहरु आन्दोलनमा उत्रिएका हुन् ।


प्रतिक्रिया