कोशी प्रदेशमा मन्त्रीपरिषद्ले पायो पूर्णता

माघ २६, २०८० | विराटनगर

कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज चार मन्त्री र दुईजना राज्यमन्त्री नियुक्त गर्दै चार महिनापछि मन्त्रीपरिषदलाई पूर्णता दिनुभएको हो ।

कांग्रेसका प्रदिपकुमार सुनुवारलाई स्वास्थ्य, रामकुमार खत्रीलाई उद्योग, कृषि तथा सहकारी मन्त्रीका रुपमा मुख्यमन्त्री कार्कीले मन्त्रीपरिषद् विस्तार गर्नुभएको हो । यस्तै माओवादी केन्द्रका राजेन्द्रकुमार कार्की सामाजिक विकास र नारायण बुर्जा मगर खानेपानी, सिँचाई तथा उर्जामन्त्रीमा नियुक्त भएका छन् ।

कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय भने आफू मातहत राख्नुभएको छ । यस्तै कांग्रेसकी इन्दीरा थापालाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री र सुनिताकुमारी गुरुङलाई आन्तरिक मामिला तथा कानून राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

कांग्रेसबाट मन्त्री नियुक्त सुनुवार ओखलढुङगा क्षेत्र नं १, खत्री उदयपुर २ ख र राज्यमन्त्री थापा धनकुटाकी समानुपातिक प्रदेश सांसद हुन् । माओवादीवाट मन्त्री वनेका बुर्जा मगर उदयपुर क्षेत्र नं २ क र कार्की संखुवासभा १ का प्रदेश सांसद हुन् ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आजै प्रदेश प्रमुख पर्शुराम खापुङवाट सपथ समेत ग्रहण गरेका छन् । यसअघि कांग्रेसका शम्शेर राई आन्तरिक मामिला तथा कानून, माओवादी केन्द्रका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त भइसकेका छन् ।  


प्रतिक्रिया