त्रिवि उपकुलपतिमा प्राध्यापक डाक्टर केशरजंग बराल नियुक्त

फाल्गुन १०, २०८० | काठमाडौं

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर केशरजंग बराल नियुक्त हुनुभएको छ ।

 प्रधानमन्त्री एवम् त्रिविका कुलपति पुष्पकमल दाहालले पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति बराललाई उपकुलपतिमा नियुक्त गर्नुभएको हो ।

 व्यवस्थापन संकायका प्राध्यापक बराल त्रिभुवन विश्वविद्यालयको २० औं उपकुलपति बन्नुभएको छ । 

पोखरास्थित पृथ्वीनारायण क्याम्पसका प्राध्यापक बराल २०६४ सालदेखि २०६८ सम्म पोखरा विश्वविद्यालयका उपकुलपति बन्नुभएको थियो । बराल सामु अब त्रिभुवन विश्वविद्यालयमा सुधार गर्ने जिम्मेवारी आएको छ । शिक्षामन्त्री अशोककुमार राई अध्यक्ष रहेको छनोट समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।

 उपकुलपति पदका लागि दरखास्त दिएका ४३ जना मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । बराललाई शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्त गरिएको बताइएको छ । 


प्रतिक्रिया