चितवन घटनाको सामाजिक सञ्जालमा टिकाटिप्पणी नगर्न प्रहरीको आग्रह

फाल्गुन १९, २०८० | काठमाडौं

गत शनिवार फागुन १२ गते चितवनको रत्ननगरस्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलमा अध्ययनरत १४ वर्षीया छात्रा मृत भेटिएको घटनाबारे तथ्यपरक वस्तुनिष्ठ अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारीले विज्ञप्ति जारी गर्दै घटनाका विषयमा प्रचलित कानुन बमोजिम वैज्ञानिक प्रयोग र प्राविधिक विश्लेषण सहित अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।

घटनास्थलमा विशेषज्ञसहितको टोलीले प्रारम्भिक अनुसान्धन सकेको र घटनाबारे वैज्ञानिक परीक्षण प्रतिवेदन आउने क्रममा रहेको प्रहरीको भनाई छ । सो घटनामा अनुसन्धान जारी रहेका बेला सामाजिक सञ्जाल र समाचार माध्यममा आएका टिकाटिप्पणीले आफुहरुको ध्यानाकर्षण भएको चितवन प्रहरीको भनाइ छ ।

सामाजिक सञ्जालमा आउने विषयवस्तुले अनुसन्धानमा प्रभाव पार्ने भन्दै त्यस्ता सामाग्री नराख्न प्रहरीले आग्रह समेत गरेको छ । प्रहरीका अनुसार कक्षा ८ मा अध्ययनरत छात्रा १४ बर्षीया सालिन पोखरेल स्कूलको होस्टेलमा मृत भेटिएकी थिइन् । परिवारले भने पोखरेलको बलात्कारपछि हत्या गरिएको दावी गरेको छ । 


प्रतिक्रिया