ललितपुर मेयर्स कप महिला क्रिकेटमा एपीएफ र सुदूरपश्चिम भिड्दै

तस्बिर : नेपाल क्रिकेट संघ 

जेष्ठ ३, २०८१ | काठमाडौं

ललितपुर मेयर्स कप टी–२० महिला क्रिकेट प्रतियोगितामा आज विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश बीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने एपीएफ र सुदूरपश्चिम प्रदेशबीचको खेल अहिले केहीबेरमा सुरु हुनेछ । 

लगातार तीन खेलमा जित हासिल गर्दै एपीएफ एक खेल अगावै प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ । हिजो भएको खेलमा एपीएफले ललितपुर मेयर्स–११ लाई ८ विकेटले पराजित गर्दै एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो ।

शीर्ष स्थानमा रहेको एपीएफको ३ खेलबाट ६ अंक भएको छ । उपाधि दौडमा रहेको सुदूरपश्चिम प्रदेश आज तेस्रो जित निकाल्ने लक्ष्यमा छ । यसअघिका दुबै खेलमा जित हासिल गर्दै दोस्रो स्थानमा रहेको सुदूरपश्चिमको चार अंक छ ।

यस्तै, प्रतियोगिता अन्तर्गत आजै हुने दोस्रो खेलमा कोशी प्रदेशले ललितपुर मेयर्स–११ को सामना गर्नेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने कोशी र ललितपुर मेयर्स–११ बीचको खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । 

फाइनल दौडबाट बाहिरिसकेको कोशी आफ्नो अन्तिम खेलमा जित निकाल्ने लक्ष्यमा हुनेछ । यसअघिका तीन खेलमा लगातार हार व्यहोर्दै कोशी फाइनल दौडबाट बाहिरिएको हो । 

ललितपुर मेयर्स–११ भने कोशीलाई पराजित गर्दै दुई अंक जोड्ने लक्ष्यमा छ । ललितपुर मेयर्स–११ तीन खेलबाट २ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ ।


प्रतिक्रिया