दीपेश पुनलाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमती

चैत्र ४, २०८० | बुटवल

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका दीपेशकुमार पुनलाई थप ८ दिन हिरासतमा राख्न जिल्ला अदालत रूपन्देहीले अनुमती दिएको छ । सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताको ७८ करोड ५० लाख रुपैंया बढी रकम अपचलन गरेको आरोप लागेका संस्थाका पूर्व सचिव पुनलाई प्रहरीले आज अदालत पेश गरेको थियो । जिल्ला अदालतले ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको हो । पूर्व राष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा दीपेश गत शुक्रवार  पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रवार नै बुटवल लगेर इलाका प्रहरी कार्यालयको हिरासतमा राखेको थियो ।

सहकारीले १ अर्ब ७ करोड रकम संकलन गरेर ९० करोड बढी रकम अपचलन गरेको लुम्बिनी प्रदेशको सहकारी दर्ता अधिकारीको कार्यालयले तयार गरेको प्रतिवेदनमा उल्लेख छ । प्रहरीले बचतकर्ताको उजुरी र सहकारी प्रतिवेदनका आधारमा सहकारी ठगी प्रकरणमा अहिलेसम्म तीन जना व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । प्रहरीले गत फागुन ४ गते सहकारीका बर्तमान अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाकी व्यवस्थापक दुर्गा पाण्डेय चापागाईलाई पनि पक्राउ गरेको थियो । त्यस्तै सहकारीको संचालक र कर्मचारीको रुपमा रहेका कुमार रम्तेल र सहकारीको आईटी प्रमुख भविश्वर अर्याललाई पनि पोखराबाट बुटवल ल्याएर अनुसन्धान गरिरहेको छ । अहिले सुप्रिम सहकारीको सचिव रहेका रम्तेल र अर्याल पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा थिए ।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक बिजयराज पण्डितले अदालतले दीपेश पुनलाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको बताउनुभयो । २०७२ फागुन ३० गतेको साधारणसभाबाट साधारण सभाबाट सुप्रिमको अध्यक्षमा ओखलढुंगाका गितेन्द्रबाबु (जिबी) राई र रोल्पाका दीपेशकुमार पुन कोषाध्यक्षमा चयन भएका थिए । बुटवलमा २०५७ सालमा दर्ता भएर संचालनमा रहेको मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको नाम परिवर्तन गरेर २०७२ साल फागुन १ गते सुप्रिम बचत तथा ऋण सहकारी संस्था बनाईएको थियो । त्यस लगत्तै कार्यक्षेत्र बाहिरका दुवै जना संस्थााको सदस्य बनेर पदाधिकारी चयन भएका थिए ।

२०७६ साल कात्तिक १६ गते भएको अर्को साधारण सभाबाट उनी सहकारीको सचिव बनेका थिए । पुन सचिव भएकै समयमा सुप्रिम सहकारीका संस्थापक अध्यक्ष तथा अहिले संरक्षक रहेका जिबी राई र उनी संलग्न विभिन्न पांचवटा कम्पनीलाई मात्र ७८ करोड ५० लाख ७६ हजार ६ सय ६५ रुपैयां ऋण दिईएको छ । राईले आफु अध्यक्ष रहेकै बखत आप्mना विभिन्न चारवटा कम्पनीका नाममा १३ करोड ७० लाख ९२ हजार २ सय ७० रुपैयां ऋण लगेका थिए । राईले २०७६ कात्तिक १६ गते अध्यक्षबाट राजिनामा दिएर संरक्षक बनेका थिए । उनी अहिले फरार छन् । सचिव रहेका पुनले बुटवलका बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि २०७९ मंसिर २४ मा राजिनामा दिएका थिए । पुन नेकपा माओवादी निकट अनेरास्वियूका केन्द्रीय महासचिवसमेत हुन् ।  


प्रतिक्रिया