वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेललाइ तेस्रो पटक विश्वासको मत

चैत्र १९, २०८० | मकवानपुर

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभा वैठकबाट जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाउनुभएको हो ।

 उहाँले यसअघि अघिल्लो वर्ष पुस २७ र चैत १० गते विश्वासको मत पाउनुभएको थियो । मुख्यमन्त्री जम्कट्टेलले आज सदनमा विश्वासको मत माग्दै पेश गरेको प्रस्तावको पक्षमा ५६ जना सांसदले मतदान गरेका थिए । उहाँको विपक्षमा ३७ जनाले मत व्यक्त गर्दा १५ जनाले तटस्थमा मतदान गरे ।

मुख्यमन्त्री जम्कट्टेललाई एमालेका २७, माओवादी केन्द्रका २१, नेकपा (एस)का ७ जना र हाम्रो नेपाली पार्टी (हानेपा)का १ सांसदले विश्वासको पक्षमा मतदान गरेका हुन् । 

जम्कट्टेलको विपक्षमा काँग्रेसले मात्र मत जाहेर गरेको हो भने राप्राप र नेपाल मजदुर किसान पार्टीका सांसदले तटस्थमा मतदान गरेका छन् । मतदान प्रक्रियामा हानेपाका २ सांसद अनुपस्थित थिए । बागमती प्रदेशसभामा १ सय १० जना सांसद छन् । प्रदेशसभामा विश्वासको मतका लागि ५६ मत आवश्यक पर्छ ।  


प्रतिक्रिया