गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारीको दाबी पेस

चैत्र २५, २०८० | कास्की

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गर्नु भएको छ । अधिकारीले माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा दाबी पेश गर्नु भएको हो । 

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिनु भएको थियो । 

एमालेका प्रमुख सचेतक गोविन्द नेपालीले एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जनाको समर्थन सहित अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेको जानकारी दिनुभयो । 

विश्वासको मत लिने समयसम्म राप्रपाको पनि साथ रहने नेताहरुले बताएका छन् । प्रदेश प्रमुखले अधिकारीलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने र शपथ लिने कार्यक्रम रहेको एमालेका प्रमुख सचेतक नेपालीले जानकारी दिनुभयो ।


प्रतिक्रिया