मधेश प्रदेशका मुख्यमन्त्री यादवले चौंथो पटक विश्वासको मत लिँदै

वैशाख ४, २०८१ | धनुषा

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मंगलबार चौथो पटक विश्वासको मत लिँदै हुनुहुन्छ । केन्द्रीय सरकारमा सत्ता समीकरण फेरिएसँगै कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले प्रदेश सभामा विश्वासको मत लिन लाग्नु भएको हो । 

कुल १ सय ७ सदस्यीय मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवलाई विश्वासको मतका लागि ५४ जनाको समर्थन आवश्यक पर्छ । सत्ता गठबन्धनमा रहेका जनता समाजवादी पार्टी जसपा, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीका सांसदको समर्थन रहेकोले मुख्यमन्त्री यादवले विश्वासको मत पाउने निश्चित छ । 

गठबन्धन बाहिरबाट लोकतान्त्रिक समाजवादी पार्टी लोसपा पनि मधेश प्रदेश सरकारमा सहभागी छन् । प्रदेश सभामा एमालेका सभामुख बाहेक २४, जसपाका १९, लोसपाका ८, माओवादीका ९ र एकीकृत समाजवादीको ७ गरी ६७ प्रदेश सांसद छन् ।

लोसपाको ९ सांसद भएपनि एक सांसद सांसद अभिराम शर्मा प्रहरीको फरार सूचीमा छन् । राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादीको १÷१ जना सांसदले पनि मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने सम्भावना छ । 

विपक्षी कांग्रेसको २२ र जनमतको १३ जना सांसद छन् । जसपाबाट मुख्यमन्त्री रहेका सरोज कुमार यादवको कार्यशैलीलाई लिएर गठबन्धन दलभित्रकै सांसदहरु असन्तुष्ट छन् । 

यादव नेतृत्वको सरकारले पछिल्लो एक वर्षमा कुनै प्रभावकारी काम गर्न नसकेको, बजेट रकमान्तर गरी भ्रष्टाचार गरेको, प्रदेश सरकारका मन्त्रीहरुले कमिसन लिएर योजना बेच्ने गरेको र प्रदेश सभालाई बिजनेश दिन नसकेको सांसदहरुको आरोप छ । 

यसअघि जनमत पार्टी सरकार छोडेर समर्थन फिर्ता लिएपछि मुख्मन्त्री यादवले प्रदेश सभाबाट तेश्रो पटक विश्वासको मत लिँदा सत्ता गठबन्धनकै सांसदले मुख्यमन्त्री र प्रदेश सरकारको आलोचना गरेको थियो ।


प्रतिक्रिया