सरकार जोगाउन लुम्बिनीमा मन्त्रालय थप गरेर मन्त्रीपरिषद् विस्तार

वैशाख ६, २०८१ | दाङ

लुम्बिनी प्रदेशमा सत्ता जोगाउन ११ सदस्यीय मन्त्रीमण्डल बनाइएको छ । मुख्यमन्त्री जोखवहादुर महराले १० सदस्यीय मन्त्रीमण्डल विस्तार गरेको दुई घण्टापछि एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउँदै एक जना मन्त्री थप्नुभएको हो ।

योसँगै ७ जनालाई विना विभागीय मन्त्री बनाइएको छ । एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, अर्जुन कुमार केसी र रत्नबहादुर खत्रीलाई विना विभागीय मन्त्री बनाइएको छ । त्यस्तै नागरिक उन्मुक्ति पाटीबाट धर्म बहादुर चौधरी र स्वतन्त्र सांसद खडक बस्नेत विना विभागीय मन्त्री बन्नुभएको छ ।

बहुमत कायम राख्न एकीकृत समाजवादीकी भगवती अधिकारीलाई पनि विना विभागीय मन्त्री बनाइएको छ । मन्त्रालय भागबन्डा मिलाउन बाँकी रहेकाले ७ वटा मन्त्रालय मुख्यमन्त्री महरा आफैले राख्नुभएको छ । नवनियुक्त मन्त्रीहरुले आजै शपथ ग्रहण गरेका छन् ।

यसअघि विना विभागीय मन्त्री बनेका एमालेका चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

माओवादीका दिपेन्द्र पुनलाई स्वास्थ्य मन्त्रालय र जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको छ । 


प्रतिक्रिया