काँग्रेसको अवरोधपछि कार्यसूचीमै प्रवेश नगरी प्रतिनिधिसभा बैठक स्थगित

जेष्ठ ११, २०८१ | काठमाडौं

कार्यसूचीमै प्रवेश नगरी आजको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कँग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले आजको बैठक स्थगित गर्नुभएको हो ।

सभामुख घिमिरेले अर्को बैठक आइतबार बिहान ११ बजेका लागि बोलाउनुभएको छ । आज कार्यसूचीमा प्रवेश नगर्दै काँग्रेस सांसदहरूले उठेर विरोध गरेका हुन् ।

सभामुख घिमिरेले आफूले सांसदहरूलाई बोल्न दिएन भनेर दलहरूले प्रचार गरेको भन्दै आपत्ति समेत जनाउनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रम पारित गर्नुपर्ने भएकाले पनि सदन चलाउन सहयोग गर्न प्रतिपक्षी दललाई आग्रह गर्नुभएको थियो ।

आज सरकारको नीति तथा कार्यक्रममाथि छलफल र छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची समेत थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले यहि जेठ १ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१÷०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ प्रस्ताव पेस गर्ने कार्यसूची थियो ।

काँग्रेसले भने सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म सदनमा अवरोध जारी रहने बताउँदै आएको छ ।

यसैबीच प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदमा सहज परिस्थितीको माग र बोल्न पाउने अधिकार सुनिश्चिततामा अवरोध नगर्न प्रतिपक्षी नेपाली काँग्रेसलाई आग्रह गर्नुभएको छ ।

सहकारीको रकम अपचलनसम्बन्धी छानबिनका लागि संसदीय छानबिन समिति बनेर कार्यादेश बनाउन कार्यदल बनिसकेको अवस्थामा काँग्रेसले सरकारको प्रतिबद्धतालाई विश्वास नगरेको समेत बर्तौलाले आरोप लगाउनुभयो । 


प्रतिक्रिया