प्रतिनिधि सभाको बैठक आज बस्दै

जेष्ठ १३, २०८१ | काठमाडौं

प्रतिनिधि सभाको बैठक लगातार अवरुद्ध हुँदा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल प्रभावित हुँदै आएको छ । 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण जेठ १ मा राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा पेश गर्नु भएको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममाथिको छलफल हुन नसकेको हो । 

सहकारीको बचत अपचलन प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै कांग्रेसले संसदमा अवरोध गर्दै आईरहेको छ । 

हरेक वर्ष जेठ १५ मा सरकारले नयाँ आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ । तर, संसदमा निरन्तरको अवरोधले सरकारको वार्षिक नीति तथा कार्यक्रममा छलफल हुन नसकेको हो ।

यसैबीच, प्रतिनिधि सभाको बैठक आज बिहान बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ । 

संसद् सचिवालयले विभिन्न १४ वटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनु हुनेछ । 

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूचीमा छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिबाट गत जेठ १ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८१÷०८२ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । 

नीति तथा कार्यक्रममाथि सदस्यबाट प्राप्त संशोधन प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने कार्यसूची छ । त्यसपछि प्रधानमन्त्री दाहालले सो छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिनुहुनेछ । 

सभामुखले प्राप्त संशोधन र नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।


प्रतिक्रिया