अस्ट्रेलियाद्वारा विद्यार्थी भिसाको नीति परिवर्तन, कस्ता व्यक्ति समस्यामा ?

जेष्ठ ३०, २०८१ | अस्ट्रेलिया

अस्ट्रेलिया सरकारले विद्यार्थी भिसाको नीतिमा फेरि परिवर्तन गरेको छ ।

विभिन्न देशबाट पर्यटन भिसामा जानेले आफ्नो भिसालाई विद्यार्थी भिसामा परिवर्तन गर्ने क्रम बढेसँगै नीति परिवर्तन गरिएको त्यहाँको विदेश मन्त्रालयले जनाएको छ ।

अस्ट्रेलियाकी विदेश मन्त्री क्लेयर ओनिलले आगामी जुलाई १ तारिखदेखि लागू हुनेगरि पर्यटक भिसामा रहेका तथा अस्थायी बसोबासमा रहेकाले विद्यार्थी भिसा आवेदन दिन नपाउने बताउनुभएको हो ।

निश्चित अध्ययन पछि पाइने ग्राजुएट भिसाको अवधि सकेपछि पुन विद्यार्थी भिसामा आवेदन दिएर बस्नेको संख्या बढेको हाम्रा सहकर्मी नारायण खड्काले जनाएका छन् । तर, स्वदेश फर्किएर भिसाका लागि आवेदन गर्न भने रोक लगाइएको छैन ।

विद्यार्थीको संख्या बढ्दा आवास तथा रोजगारीमा समस्या हुन सक्ने भन्दै नीति परिवर्तन गरिएको आँकलन गरिएको छ ।

विदेश मन्त्रालयका अनु्सार पछिल्लो १० महिनाको अवधिमा पर्यटक भिसाबाट विद्यार्थी भिसामा जानेको संख्या ३६ हजार पुगेको छ ।

नयाँ नियमले हजारौं नेपाली विद्यार्थी समेत प्रत्यक्ष प्रभावित हुने देखिएको छ । सरकारी तथ्यांक अनुसार नेपालबाट ५५ हजार भन्दा बढी विद्यार्थी अस्ट्रेलिया पुगेका छन् । 


प्रतिक्रिया