बाल यौन शोषण अभियोगमा ‘तपस्वी’ बम्जन दोषी ठहर

असार १०, २०८१ | सर्लाही

सर्लाही जिल्ला अदालतले ‘तपस्वी’ रामबहादुर बम्जनलाई बाल यौन शोषण अभियोगमा दोषी ठहर गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश जीवन कुमार भण्डारीको ईजलासले बम्जनलाई यौन शोषण मुद्दामा दोषी ठहर गरेको जिल्ला अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार सरकारी वकिल कार्यालयले पेश गरेको अभियोजन अनुरुप न्यायाधीश भण्डारीको ईजलासले बम्जनलाई दोषी ठहर गरेको हो ।

बम्जनको सजाय निर्धारण भने असार १७ मा मात्र हुने अदालतले जनाएको छ । सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि बम्जन हाल महोत्तरी कारागार जलेश्वरमा छन् ।

बाल यौन शोषण अभियोगमा पूर्पक्षमा रहेका बम्जन निर्दाेष रहेको दाबी सहित आजको ईजलासमा वरिष्ठ अधिवक्ता सिताराम केसी सहित ५ जना अधिवक्ताले बहस गरेका थिए भने अभियोग बमोजिम कैद सजायको माग सहित जिल्ला सरकारी वकिल कार्यालय मलंगवाका प्रमुख जिल्ला न्यायधिवक्ता कैलाश दाहालले बहस गर्नुभएको थियो ।

सर्लाही जिल्ला अदालतले २०७७ साल असार २१ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा बम्जनलाई काठमाडौंको बुढानिलकण्ठबाट सीआईबीको टोलीले पक्राउ गरेको थियो ।


प्रतिक्रिया