तीन वटा सबस्टेशन निर्माणका लागि सम्झौता
श्रावण १६, २०८१
अमेरिकी सहायताको एमसीसी परियोजना अन्तर्गत ४ सय केभी क्षमताका तीन वटा सबस्टेशन निर्माणका लागि सम्झौता सम्पन्न भएको छ । पछिल्लो पटक आज तनहुँ जिल्लाको दमौलीमा ४ सय केभी क्षमताको नयाँ दमौली सबस्टेसन निर्माणका लागि भारतीय कम्पनीसँग सम्झौता भएको हो ।
एमसिए नेपालका अनुसार भारतकोे टेक्नो इलेक्ट्रिक एण्ड इन्जिनियरिङ लिमिटेडसँग ३ दशमलव ८८ करोड अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको छ । एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र भारतीय कम्पनीको तर्फबाट व्यापार निर्देशक राजीव अग्रवालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
यसअघि नयाँ बुटवल र रातमाटे सबस्टेशनका लागि सम्झौता भइसकेको छ । एमसीसी परियोजना अन्तर्गत तीन वटा सबस्टेशन बाहेक काठमाडौँको लप्सीफेदीदेखि बर्दघाट सुस्ता पश्चिमस्थित नेपाल–भारत सीमासम्म ३ सय १५ किलोमिटर लामो प्रसारण लाइन निर्माण हुनेछ । एमसिए नेपालका अनुसार, १८ किलोमिटर लामो सीमापार प्रसारणलाइन निर्माणका लागि प्राप्त बोलपत्रको मूल्यांकन कार्य भइरहेको छ । बाँकी २ सय ९७ किलोमिटर प्रसारण लाइन निर्माणका लागि यसै बर्षभित्र पूनः बोलपत्र आह्वान गर्ने तयारी भइरहेको एमसिए नेपालले जनाएको छ ।