अष्ट्रेलियामा नेपाली विद्यार्थीको भिसा अस्वीकृत हुने क्रम उच्च
श्रावण २६, २०८१ | अष्ट्रेलिया
अष्ट्रेलियाले शैक्षिक नीतिमा कडाई गरेसँगै यसको असर अष्ट्रेलियामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीमा समेत देखिएको छ । सरकारले हालै जारी गरेको तथ्याङ्क अनुसार नेपाली विद्यार्थीको भिसा आवेदनको अस्वीकृत दर गत वर्षको तुलनामा अत्यधिक बढेको छ ।
अष्ट्रेलियाको शिक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार गतबर्ष नेपालबाट समग्रमा करिब २३ हजारले अध्ययनका लागि विद्यार्थी भिसा पाएकोमा यसवर्ष यो संख्या घटेर ११ हजारमा झरेको छ । प्राविधिक शिक्षा अध्ययनका लागि जाने विद्यार्थी सख्ंया गतवर्ष १ हजार ५६ रहेकोमा यसवर्ष जम्मा २६ जनालाई मात्र भिसा दिएको छ ।
भिसा अस्वीकृत हुने क्रम बढेपछि नेपाली विद्यार्थीले अष्ट्रेलियामा अध्ययनका लागि दिने आवेदनमा समेत कमी आएको देखिएको छ । गत वर्ष करिब २५ हजारले उच्च शिक्षा अध्ययनका लागि भिसा आवेदन दिएकोमा यो संख्या घटेर १५ हजारमा झरेको छ ।
गतवर्ष प्राविधिक शिक्षा अध्ययनका लागि करिब ४ हजार नेपाली विद्यार्थीले आवेदन दिएकोमा यो संख्या यसबर्ष जम्मा २ सय ५४ मात्र रहेको छ । अहिले अष्ट्रेलियामा करिब ५७ हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । अष्ट्रेलियामा पुगेका विदेशी विद्यार्थीमध्ये नेपाली विद्यार्थीको संख्या तेस्रो स्थानमा छ ।